एक करोड रुपैयाँ खर्चेर कृषि एक्स्पोको आयोजना

Express

Express

2024-09-10

Ads

निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले १ करोड रुपैयाँ खर्चेर विराटनगरमा कृषि एक्स्पोको आयोजना गर्दैछ । महासंघले भाद्र २७ गतेदेखि विराटनगरमा ४ दिने कृषि एक्स्पोको आयोजना गर्न लागेको हो । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको मोरङको कटहरी गाउँपालिका स्थित कृषि थोक बजारमा कृषि एक्स्पो २०८१ को आयोजना गर्न लागेको हो ।

महासंघको कोशी प्रदेश समितिले आयोजना गर्न लागेको कृषि एक्स्पो भाद्र ३० गतेसम्म चल्ने छ । नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना गर्न लागेको कृषि एक्स्पोको बारेमा जानकारी गराइएको छ । महासंघको कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले नेपाल र भारतका १५ जना कृषि विशेषज्ञले कृषि एक्स्पोमा सहभागिता जनाउदै कृषि क्षेत्रलाई समय अनुकुल अगाडि बढाउने र किसानलाई फाइदा पुर्‍याउने विषयमा वृहत छलफल हुने जानकारी गराइएको छ ।

एक्स्पो स्थल कटहरी थोक बजारमा ५ वटा ब्लक छुट्याइएको छ । जसमा ए मा ब्लकमा पशुपन्छी, बि ब्लकमा कृषि, सि ब्लकमा मेसिनरी, डि ब्लकमा फुड स्टल र इ ब्लकमा गोष्ठी तथा परामर्श सेवाका कार्यक्रम सञ्चालन हुनेछ । एक्स्पोमा भारतका २० गरी १ सय ३० भन्दा बढि स्टल रहने छ । एक्स्पो अवधि भर कृषि, पशुपन्छी, कष्टम, हाइरिंग, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधि लगायतका विषयमा नेपाल र भारतका कृषि विज्ञहरुबाट संवाद तथा छलफल कार्यक्रम सञ्चालन हुनेछ ।

नविनतम औजार, यन्त्र तथा प्रविधिको प्रदर्शनी, उन्नत जातका पशुपन्छी प्रदर्शनी, पर्यावरण–मैत्री ज्ञानशिप र प्रविधि, कृषि विज्ञसँग छलफल तथा सेमिनार कार्यक्रम एक्स्पोका मुख्य आकर्षण रहेका छन् । महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले प्रदेशको पहाडी जिल्लाबाट किसानलाई कृषि एक्स्पोमा ल्याएर अवलोकन गराउने कार्यक्रम रहेको बताए । पहाडी जिल्लाका किसानलाई एक्स्पो स्थल विराटनगर ल्याउने र खान बस्न सहित पुनः घर फिर्ता पुर्‍याउने खर्च महासंघले व्यहोर्ने अध्यक्ष राउतले बताए । पत्रकार सम्मेलनमा महासंघका कोशी प्रदेश कोषाध्यक्ष सुभाष आचार्य सहित पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

Ads

Ads

Loading...

© Copyright 2024 All Rights Reserved by Birat Express